असार २१, २०७७
लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्ट्याएर बर्नमाउथमाथि ५–२ को सानदार जित निकालेको हो ।
युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा माकर्सस रासफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेजे गोल गरे । बर्नमाउथका जुनियर स्टानिसलास र जोसुवा किङले गोल गरे । गोलको वर्षा भएको खेलमा बर्नमाउथले १५औं मिनेटमा जुनियरको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले जोसुवा किङको पासमा गोल गरेका थिए । २९औं मिनेटमा मासन ग्रीनवुडले ब्रुनो फर्नान्डेजको पासमा बराबरी गोल फर्काउदै खेलमा फर्किए ।
३५औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए । एन्थोनी मार्सियलको हेडरमा एडाम स्मिथले ह्यान्ड गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनोको पासमा मार्सियलले गोल गरेपछि युनाइटेडले खेलमा ३–१ को पकड बनायो ।
४९औं मिनेटमा जोसुवा किङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर, त्यसपछि युनाइटेडले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए । ५४औं मिनेटमा मासन माउन्टले तथा ५९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ५–२ को सानदार जित दिलाए । जितसँगै युनाइटेड ३३ खेलबाट ५५ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा बर्नमाउथ २७ अंक जोडेर १९औं स्थानमा यथावत छ ।
यस्तै अर्को खेलमा जेमी भार्डीले प्रिमियर लिगमा १ सय गोलको कोसेढुंगा पार गरेको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकालेको छ । भार्डीले प्रिमियर लिगको २०६ खेलमा १०१ गोल गरेका हुन् । भार्डीले दुई तथा केलिची इहेनाचाले इक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
४९औं मिनेटमा केलिचीको गोलबाट लेस्टर खेलमा अघि बढेको थियो । ७७औं र इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई सहज जित दिलाए । जितसँगै लेस्टर ३३ खेलबाट ५८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । क्रिस्टल प्यालेस ४२ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
प्रतिक्रिया