Pura Samachar
  • राष्ट्र बैंकले सटहीका लागि नगद भारु उपलब्ध गराउन छाड्यो

    प्रकाशित: भदौ १५, २०७८

    राष्ट्र बैंकले सटहीका लागि नगद भारु उपलब्ध गराउन छाड्यो

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भारतीय मुद्रा (भारु) उपलब्ध गराउन छाडेको छ। कोभिड-१९ को संक्रमण बढेपछि सरकारले गरेको लकडाउनपछि राष्ट्र बैंकले नगद भारु उपलब्ध गराउन छाडेको हो।



    नगद उपलब्ध गराउन छाडेको  औपचारिक सूचना भने प्रकाशित गरेको छैन। बैंकहरुलाई मौखिक रुपमा ‘अबदेखि नगद भारु दिन नसक्ने, आवश्यक परे आँफै ब्यवस्थापन गर्न’ भनेको छ।

    लकडाउनपछि हवाइ उड्यान बन्द भएको थियो। यसले गर्दा भारु ढुवानी पनि प्रभावित भएको थियो। त्यसपछि राष्ट्र बैंकले उपलब्ध गराउन छाडेको हो। नभए राष्ट्र बैंकले डलर बेचेर बार्षिक ७ अर्ब रुपैयाँजति नगद भारु खरीद गर्थियो।

    राष्ट्र बैंकले भारु नगद नदिनुमा तीन वटा तर्क अगाडि सारेको छ। पहिलो कारण त लकडाउन सकिए पनि  नियमित आपुर्ति गर्न सकिने अवस्था छैन।

    दोस्रो कारण, अहिले भारतमासमेत चल्ने एटीएम कार्डहरु उपलब्ध छन्। नेपालमा भारु नचल्ने र भारतमा मात्र चल्ने भएकाले त्यहाँ जाँदा कार्डबाटै पैसा झिक्न सक्ने वा अन्य भुक्तानी गर्न सक्ने अवस्था छ। अहिले दिनमा १५ हजार भारु निकाल्न पाइन्छ।

    तेस्रो कारण, भारत सरकारको नीति। भारत सरकारले भारु नोट चाँडोचाँडो परिवर्तन गरिरहेको छ। बीचमा ५०० र १००० दरका नोट हटाएको थियो। त्यो बेला  नेपाली बैंकमा रहेको ३६ करोड भारु अझै साटिएको छैन। साना नोटहरु पनि प्रतिस्थापन गरिरहेको छ। नेपालले १०० दरदेखि तलका  नोट मात्र ल्याउन पाउँछन्। ती नोट पनि प्रतिस्थापन भइरहेका छन्। यही कारण राष्ट्र बैंक भारु नोट ल्याएर बाँड्ने पक्षमा छैन।

    यद्यपी राष्ट्र बैंकले आफ्ना कार्यलयमार्फत भने आवश्यक कागजात पुर्याउनेलाई तोकिएको सीमाभित्र नोट उपलब्ध गराइरहेको छ। तर उसले बैंकहरुलाई पनि भरसक नोटभन्दा पनि अन्य बैकल्पिक उपायहरु प्रबर्द्धन गर्न भनिरहेको छ।

    राष्ट्र बैंकले बैंकहरुलाई सटहीका लागि नगद नोट नदिएपनि पछिल्लो समय बजारमा भने अभाव छैन। नगद नोटको भारतीय सीमा जोडिएका जिल्लाहरुमा अभाव हुने गर्थियो। कुनैबेला एक सय भारुका लागि १७५ रुपैयाँसम्म पनि तिर्नु पर्ने अवस्था आएको थियो।

    पछिल्लो समय भने उत्तर प्रदेश र विहारमा मदीरामा प्रतिबन्ध  लगाएपछि त्यहाँबाट गाडी लिएर नेपाल छिर्नेहरु बढेका छन्। उनीहरुले नेपालमा भारु खर्च गर्छन्। त्यही कारण आवश्यक भारुको प्रबन्ध मिलिरहेको छ।

    प्रतिक्रिया