काठमाडौं। विश्वभर कोरोना भाइरसबाट १ करोड १८ लाख ५४ हजार ५२० जना संक्रमित भएका छन्। ती मध्ये ६८ लाख १४ हजार ६८६ जना उपचारपछि निको भएका छन् भने ५ लाख ४३ हजार ६६६ जनाको मृत्यु भएको छ।
यसैबीच संयुक्त राज्य अमेरिकाले मंगलबार आधिकारिक रुपमा आफू विश्व स्वास्थ्य संगठनबाट अलग भएको औपचारिक जानकारी गराएको छ। उक्त जानकारी अमेरिकाले डब्ल्यूएचओलाई मंगलबार गराएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओमाथि कोरोना भाइरस फैलाएको विषयमा चीनको पक्ष लिएको र सही समयमा सही सूचना विश्वलाई नदिएको आरोप लगाएका थिए। अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको लाखौं करोडौं डलर रोक्का गरेका छ।
यसैबीच ब्राजीलका राष्ट्रपतिलाई कोरोना पोजेटिभ देखिएको छ। यसअघि राष्ट्रपति जेयर बोलसोनारोले कोरोना महामारीलाई नजर अन्दाज गरेको आरोप लागेको थियो। ब्राजील कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशको दोस्रो नम्बरमा छ। यहाँ १६ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने हालसम्म ६५ हजार ५५६ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा थपिएका छन्। मंगलबारमात्रै विश्वभर १ लाख २१ हजार ९३९ नयाँ संक्रमित थपिएका छन्। ती मध्ये सबैभन्दा धेरै अमेरिकामा २८ हजार ९८७ जना नयाँ संक्रमित फेला परेका छन्।
त्यसपछि भारतमा २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मृत्यु पनि अमेरिकामा भएको छ। अमेरिकामा २४ घण्टामा ५५७ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको ब्राजीलमा ५३७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया