Pura Samachar

अमेरिका र चीन प्रविधिको युद्धलाई जन्म दिँदैछन् !

प्रकाशित: July 13, 2020

अमेरिका र चीन प्रविधिको युद्धलाई जन्म दिँदैछन् !

एजेन्सी । प्रविधिको भविष्यलाई लिएर अहिले विश्वभरका कम्पनी र राष्ट्रहरु नयाँ युद्धतर्फ अघि बढिरहेका छन् । विशेषगरी अमेरिका चीनबीच जारी प्रतिस्पर्धामा सबै देश कुनै एकको पक्ष लिन बाध्य हुनुपर्ने अवस्था नजिकिँदै छ भने यसले विश्वव्यापी आपूर्तिमा अवरोध पुर्याउनुका साथै आकर्षक व्यवसायहरुलाई समेत बजारबाट बाहिर धकेलिरहेको छ ।

यही प्राविधिक युद्धको सबैभन्दा पछिल्लो क्षति भिडियो सेयरिङ एप टिकटकले बेहोर्नु परेको हो । युवाहरुमाझ अत्यन्तै लोकप्रिय टिकटकका भारत र अमेरिकामा पनि करोडौँ प्रयोगकर्ताहरु थिए ।  तर गत महिना चीनसँगगको विवादका कारण भारतले यो एपमाथि प्रतिबन्ध लगाएको छ भने सोमबार मात्र अमेरिकी अधिकारीहरुले पनि राष्ट्रिय सुरक्षाका लागि हानिकारक बताउँदै अमेरिकामा टिकटक निषेध गर्ने योजना सार्वजनिक गरेका हुन् ।

यसरी वास्तवमा टिकटक चिनियाँ कम्पनीको भए पनि त्यसलाई अमेरिकी सीईओले सञ्चालन गर्दै आएका छन् । यसबारे हार्भर्ड केनेडी स्कुलका डिजिटल प्लेटफर्मका सहनिर्देशक दिपायन घोसले भन्छन्, “अहिलेको समयमा वास्तविक ग्लोबल प्लेटफर्म हुन झन् झन् कठिन बन्दै गइरहेको छ जुन असाध्यै दुःखको कुरा हो ।”

अमेरिका र चीन, विश्वका दुई सर्वाधिक ठूला अर्थतन्त्रबीच जारी विवादले नै प्रविधिको युद्धलाई जन्म दिएको मानिन्छ ।  यी दुई देशबीच पछिल्ला केहीवर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई), तीव्र गतिको नेटवर्क, फाइभजी मोबाइललगायतका प्राविधिक आविस्कारहरुलाई लिएर गम्भीर प्रतिस्पर्धा चलिरहेको छ ।

दुवै देशले लामो समयदेखि आर्थिक रुपमा सहकार्य गरिरहेको भए पनि राष्ट्रिय सुरक्षा सम्बन्धी तनावका कारण पछिल्लो समय दुवै देशका सरकार र व्यवसायीहरु उक्त साझेदारीबारे पुनः विचार गर्न बाध्य भइरहेका छन् ।

र यसले अन्य विश्वशक्तिहरुलाई पनि उत्तिकै प्रभाव पारिरहेको छ । जस्तै कि बेलायतले अमेरिकाको निरन्तर दबाबकै कारण चिनियाँ प्राविधिक कम्पनी हुवावेलाई फाइभजी नेटवर्क निर्माण योजनामा संलग्न गराउने निर्णयबारे फेरि सोचिरहेको छ । अमेरिकाले त यसअघि धेरैपटक हुवावेलाई लक्षित गरिसकेको छ भने अमेरिकी कम्पनीहरुलाई यससँग कारोबार गर्न निषेध नै गरिदिएको हो ।

इन्टरनेशनल बिजनेस स्कुलका वरिष्ठ प्रोफेसर माइकल विट भन्छन्, “प्राविधिक कम्पनीहरुले भविष्यमा मानव जीवन कसरी कम वैश्विक हुनेछ भनेर बल्ल अहिले थाहा पाउँदैछन् । यसकारण उनीहरु द्विविधाको चरम बिन्दुमा पुगेका हुन् ।” दशकौँ अघिदेखि नै चीन र अमेरिकाबीच प्रविधिमा अग्रणी बन्ने सम्बन्धी विपरीत धारणा रहँदै आएको छ ।

जहाँ १९८० को दशकमा आईबीएम र माइक्रोसफ्टले अमेरिकी नविनतम प्रविधिको बाटो खुलायो त्यही समयमा चीनले भने ग्रेट फायरवालको जग स्थापना गरिरहेको थियो ।  ग्रेट फायरवालले विश्वका अन्य क्षेत्रका इन्टरनेटमा हुने सबै सामग्रीहरु कटौति गर्छ र सेन्सरमा आधारित छुट्टै आन्तरिक इन्टरनेट सेवा प्रदान गर्दछ ।

चीनले जनताको इन्टरनेट प्रयोगलाई नियन्त्रण गर्न यो प्रविधि प्रयोग गर्दै आएको छ भने रुसले पनि यसैको उदाहरण लिने प्रयास गरिरहेको छ ।  चीनको महत्वाकांक्षी परियोजना ‘मेड इन चाइना २०२५’ का कारण पनि पछिल्ला केही वर्ष चीनले प्रविधिमा अधिक लगानी र प्रगति गरिरहेको छ ।  यस अन्तर्गत चीनले २०२५ सम्ममा प्रविधि सम्बन्धी सम्पूर्ण सामानहरु देशभित्रै उत्पादन गर्ने र आयात गर्नुनपर्ने बताएको छ ।

अर्कोतर्फ अमेरिकाले अहिलेदेखि नै चीनको पहुँच सीमित गर्ने प्रयास गरिरहेको छ । यसकारण पनि दुवै देश एकले अर्कालाई हराउन समर्पित भएर लागिरहेका छन् । यसले सीमा पारि सेवा सञ्चालन गर्दै आएका सर्वाधिक शक्तिशाली प्राविधिक कम्पनीहरुलाई पनि नराम्ररी असर पार्ने विज्ञहरुको भनाइ छ । जस्तै दुईमध्ये एउटाको पक्षमा रहनुपर्दा अमेरिकाका पुराना मित्रराष्ट्र दक्षिण कोरिया र ताइवान चीनसँग कारोबार अघि बढाउने सम्भावना बढी छ ।

विश्वभरका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न चीन सेमिकन्डक्टर चिपमा निर्भर छ, जसको आपूर्ति गर्नका लागि भए पनि यिनले चीनलाई नै रोज्ने अनुमान गरिएको छ । र अन्य मुलुकहरुले पनि कूटनीतिक, राजनीतिक, आर्थिक सबै कुरालाई ध्यानमा राख्दै आफ्नो प्राथमिकताका आधारमा चयन गर्नेछन् ।

यसरी चीन र अमेरिका दुवैले यसअघि नै विश्व अर्थतन्त्रलाई हतियारका रुपमा प्रस्तुत गर्न तयार रहेको देखाइसकेका छन् जसकारण उत्पन्न तनावले प्रविधिलाई ग्लोबल उत्पादन नभएर राष्ट्रिय सेवाको पहिचान दिलाउनेछ ।  यसमा शताब्दीऔँपछि प्रविधि र व्यापार सम्बन्धी यति ठूलो बदलाव देख्नु परिरहेको विश्लेषकहरुले बताएका हुन् ।

तर अर्कोतर्फ चीन र अमेरिका बाहेक अन्य कुनै विकल्प छैनन् भन्ने पनि होइन । जस्तै भारतले टिकटक बन्द गराउनासाथ त्यसको ठाउँमा स्थानीय एपहरु चर्चामा आएका हुन् ।  तर पनि प्रविधिले विश्वलाई विभिन्न पक्षमा विभाजित गराउने निश्चित नै देखिन्छ । सीएनएन

प्रतिक्रिया