काठमाडौं । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगती ९१ प्रतिशत भएको छ । यही सन् २०२० भित्र संचालन गर्ने लक्ष्य राखिएको यो विमानस्थलको अधिकांश संरचना निर्माण सम्पन्न सकिएको छ ।
विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको छ । अब रनवेमा लाइट राख्ने, कन्भेयरवेल्ट निर्माण र आन्तरिक केही काम बाँकी रहेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनले लकडाउन पूर्ण खुलेको समयदेखिको ६ महिनासम्ममा यो विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
“अहिलेसम्म विमानस्थल निर्माणको भौतिक प्रगती ९१ प्रतिशत सम्पन्न भएको छ । लकडाउन खुलेको ६ महिनाभित्र संचालनमा ल्याउने तयारीमा छौं”,उनले भने ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार ठूला भौतिक पूर्वाधार निर्माणभन्दा पनि फिनिसिङ र उपकरण जडानका कामहरु मात्रै बाँकी रहेको छ । कोभिड १९ का कारण चीन तथा तेस्रो मुलुकबाट उपकरण ल्याउन ढिलाइ भएकाले आयोजना सम्पन्न हुन थप केही समय लाग्न देखिएको छ । चीनबाट आउनुपर्ने केही उपकरण आएपनि अझै केही बाटोमा रहेको र केही आउनेक्रममै रहेको अधिकारीले बताए ।
“महत्वपूर्ण उपकरण आइनसकेकाले सबै काम सम्पन्न गर्न डिसेम्बरसम्म लाग्ने देखिएको छ,” उनले भने । आइसकेको उपकरण जडानको काम भने निरन्तर भइरहेको उनले बताए । “कतिपय उपकरण तेस्रो मुलुलकबाट ल्याउनुपर्ने छ । भदौ १ गतेबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सरकारको निर्णय भएकाले यो समयमा उपकरण ल्याउन नै लाग्छौं” उनले भने ।
चीनको ल्हासाबाट रसुवागढी नाकाबाट सामान ल्याउन अहिले नपाइएकाले ती सामान ल्याउन पहल भइरहेको उनले बताए । “जति छिटो उपकरण ल्याउन सक्यो त्यति छिटो आयोजना सम्पन्न हुन्छ, त्यसैले उपकरण ल्याउन पहल भईरहेको छ ।”
के-के काम सकियो ?
विमानस्थलका लागि आवश्यक सबै भवनको निर्माण सम्पन्न भइसके । भवनमा जडान गर्नुपर्ने केही उपकरण पनि जडान भइसकेको आयोजना प्रमुख अधिकारीले बताए । विमानस्थलको प्रशासनिक भवन, टर्मिनल भवनको निर्माण सम्पन्न भएर आन्तरिक मार्वल, टायल, सीसीटिभी जडानलगायका काम सकिएका छन् । विमानस्थलको धावनमार्ग निर्माण पनि सम्पन्न भइसकेको छ । विमानस्थलमा तीन किलोमिटरको एउटा धावनमार्ग छ ।
के-के काम बाँकी छ ?
आयोजना प्रमुख अधिकारीका अनुसार ठूलो भौतिक पूर्वाधारको रुपमा रहेको पाँच मिटरको सडक र धावनमार्गमा लाइट जडान गर्न बाँकी छ । “ठूलो संरचनामा धावनमार्ग वरिपरी करिब ५ मिटरको सडक बन्नुपर्छ, त्यो काम पनि भदौमा गर्दैछौं । एक महिनामा त्यो काम सकिन्छ” उनले भने, “धावनमार्गमा लाइट जडान गर्ने काम बाँकी छ ।”
हवाई इन्धन भण्डारको काम पनि अघि बढ्यो
लुम्बिनी विमानस्थलका लागि चाहिने हवाई इन्धन भण्डारणका लागि टेण्डर आह्वान गरेर काम सुरु भइसकेको छ । तत्कालका लागि ३ सय ५० किलोलिटर हवाई इन्धन भण्डारणको काम सुरु भइसकेको र आगामी तीन महिनाभित्र निर्माण सम्पन्न हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको जस्तै ठूलो क्षमताको भण्डारका लागि भने टेण्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । “भदौं १५ गतेसम्म त्यसको पनि टेण्डर आह्वान हुन्छ” उनले भने ।
सञ्चालन योग्य डिसेम्बरसम्म बन्नसक्ने
हालसम्मको निर्माण प्रगतीलाई हेर्दा र उपकरण आउन समय लाग्ने देखिएकाले विमानस्थल सञ्चालन योग्य बनाउन भने डिसेम्बरसम्म नै पुग्नुपर्ने देखिएको छ । बाहिरी कामहरुलाई पनि अहिले मनसुनले असर पारिरहेकाले यसको असर निर्माण सम्पन्नमा पनि देखिनेछ ।
“राम्रो काम हुने सिजनमा उपकरण ल्याउन सकिएन्” आयोजना प्रमुख अधिकारीले भने, “चाडपर्व, मनसुन एवं प्रविधि जडानलाई समेत मध्येनजर गर्दा डिसेम्बरसम्म समय लाग्ने देखिएको छ ।” उनले संचालन योग्य संरचनाको निर्माण डिसेम्बरसम्म सक्ने योजनामा रहेको बताए ।
यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब ४ लाख रहेको छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४ सय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजना प्रमुख अधिकारीले बताए ।
भौतिक प्रगती ९१ प्रतिशत भएको विमानस्थलको वित्तीय प्रगती ६१ प्रतिशत भएको आयोजनाले जनाएको छ । हाल विमानस्थल निर्माणमा दैनिक २ सय ७५ देखि तीन सय जना कर्मचारी सहभागी छन् ।
प्रतिक्रिया