
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिएर बुधबार गोप्य पत्रकार भेलासम्म पुग्यो । असार १० गते सुरु भएको स्थायी कमिटी बैठक अन्योलमा छ ।
पार्टी एकिकरण हुँदा तत्लकाली माओवादी अध्यक्ष र एमाले अध्यक्षले पाँच वर्षे कार्यकाल आधा-आधा चलाउने ‘भद्र सहमति’ भएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष आफैंले सत्ता सञ्चालन गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हच्किए ।
उनले सरकारले राम्रो गर्न नसकेको र प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेको भन्ने अभिव्यक्तिहरु दिन थाले । चुतर ओलीले प्रचण्डलाई बोलाएर ‘कार्यकारी अध्यक्ष’ बिल्ला भिराइ दिए । प्रचण्ड केही समय शान्त बसे । तर, नाम कार्यकारी भनेर आफूलाई तोके पनि ओलीले एकलौटी निर्णय गर्दै गए ।
उता वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रचण्डलाई उचालिरहेका थिए । उनीहरुले पनि केपीको रवैयाको सेखी झार्नु थियो । आफूले पार्टी र सत्ता सञ्चालन गर्दा ओलीले दिएको दु:ख र ओलीले नै राजीनामा माग गरेको उनीहरुले बिर्सेका थिएनन् । झलनाथ नेतृत्वको सरकारलाई ओलीले एक मिनेट सत्तामा बस्ने अधिकार नभएकोसमेत बताएका थिए ।
यही दाउमा रहेका नेपाल-खनालले प्रचण्डलाई ‘मोहरा’ बनाए । असार १७ गते बसेको स्थायी कमिटी बैठकअघि भैंसेपाटी भेला डाकेर प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने सहमति भयो । सोही बमोजिम असार १७ गतेको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरियो । पार्टी अध्यक्ष प्रचण्ड, नेपाल, खनाल, नेपाललगायतका ११ स्थायी कमिटी सदस्यहरुले बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा माग गरे ।
ओलीको राजीनामा माग गरेदेखि स्थायी कमिटी बैठक बस्न सकेको छैन । ओलीले प्रचण्डसँगको छलफलमा दुई पार्टी एक हुँदा आफूहरु दुईजनाबीच सम्झौता भएकोले दुईजनाले नै मिलेर पार्टीका लागि निकास दिनुपर्ने तर, बीचमा नेपाल-खनाल समावेश अनावश्कयक रहेको बताउँदै आएका छन् । यता नेपाल-खनाल आफू प्रचण्डकै पछि लागिसकेकोले प्रचण्डले नेतृत्व गरेर ओलीलाई राजीनामा दिन बाध्य पारिनुपर्ने दबाब प्रचण्डलाई छ ।
प्रचण्डले नेपाल-खनाललाई अहिले कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नमा ओली भन्छन्, “नेपाल-खनाल तत्कालीन एमालेका नेता हुन्, माओवादीका होइनन् । उनीहरुलाई व्यवस्थापन गर्ने जिम्मा आफ्नो भएकोले तपाईंको समस्या समाधानका लागि तयार छु । तर, नेपाल-खनाललाई साथ लिएर आउनु उपयुक्त छैन ।”
तर, नेपाल-खनालले भने ओलीलाई निशाना बनाएर प्रचण्डको काँधमा बन्दुक राखेका छन् । यही रस्साकस्सीबीचबाट कुनै सहमतिको बिन्दुमा पुग्न नसकिएपछि थप रणनीति बनाउन नेपाल-खनालकै योजनाअनुसार बुधबार गोप्य भेला बोलाइएको हो । उक्त भेलापछि पार्टी फुटको संघारमा पुगेको हो भन्ने प्रश्नहरु उठेका छन् ।
पार्टी फुटको स्थितिमा पुगेपछि नेपाल-खनालसँग कुनै सम्झौता गर्न ओली तयार छैनन् । उल्टै फुटेमा के हुने भन्ने स्थितिका लागि पूर्ण तयारी अवस्थामा छन् । पार्टी सचिवालयमा वामदेवले ओलीको पक्ष लिएपछि प्रचण्डपक्ष अलमतमा परेको छ । त्यसकारण उनीहरुले स्थायी कमिटीबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
पछिल्लो समय ओली-प्रचण्डको छलफल पनि पातलिएको छ । बुधबारको गोप्य पत्रकार भेलामा चारैजना नेताले स्वरमा भने, “ओलीले विषयमा छलफल नै हुन दिनु भएन । एकलौटी निर्णय गर्नुभयो । बहुमतको निर्णय लत्यानुभयो ।”
यस्तो स्थितिमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा दोस्रो पंक्ति नेताहरु भने चिन्तित देखिन्छन् । सोही अनुसार बिहीबार बिहान अध्यक्ष प्रचण्ड र संसदीय दलका नेता नेम्वाङबीच खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि भेटवार्ता भएको छ ।
बुधबारको गोप्य भेलापटि संवादद्वारा नै समस्याको हल गर्ने, बाहिर केही नभन्ने समझदारी विपरीत प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मैदानमा उत्रिएपछि ओली समूह अलग्गै रणनीति बनाउन जुटेको छ ।
प्रतिक्रिया