काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो ।
यद्यपि, बैठक बस्ने नबस्ने भन्ने सुनिश्चित भने छैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहले स्थायी कमिटी बैठक नरोक्ने र बहुमतका आधारमा निर्णय गरेर अगाडि बढुने तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बिहान बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष निकालेको थियो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकबाट बहुमतका आधारमा निर्णय गरेर जाने तयारी गरिएको खुमलटारमा सम्पन्न छलफलमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए ।
नेकपाको जारी स्थायी कमिटीको बैठकका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न दबाब दिएपछि लगातार बैठक स्थगित हुँदै आएको छ । नेताहरुबीचको अनौपचारिक छलफलमा पार्टी एकता कायमै राख्नका लागि ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडान इतरसमूहको छ ।
प्रतिक्रिया