काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र केही केन्द्रीय सदस्यबीच सवाल–जवाफ चलेको छ ।
केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनुहुँदैन भनेर बहुमत स्थायी कमिटी सदस्यको विपक्षमा उभिएपछि उपाध्यक्ष गौतमलाई सम्झाउन पुगेका केही केन्द्रीय सदस्य आफैं निराश बनेर फर्किएका छन् ।
स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, ठाकुर गैरे गौतम निवास भैंसेपाटी पुगेका थिए ।
गौतमले प्रधानमन्त्री ओलीलाई लामो समयदेखि काँध थाप्दै आएको भए पनि बदलामा अपमानबाहेक केही पनि नपाएको बताएका थिए ।
“अहिले पनि कुनै पदको लोभले ओलीलाई प्रधानमन्त्रीबाट नहटाउँ भनेर सहमतिको प्रस्ताव अघि सारेको होइन । ओलीलाई संसदीय दलको नेता बनाउनेबेला र त्योभन्दा अघिदेखि काँध थाप्दै आएको छु,” गौतमको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “अहिले पनि ६ बुँदा पार्टी एकता बचाउन, कम्युनिस्ट आन्दोलन बचाउन अघि सारेको हुँ ।”
उनले ओलीबाट सरकार र पार्टी दुवै चल्दैन भनेर आफूले एकवर्षअघि नै निष्कर्ष सुनाएको दोहोर्याएका थिए । त्यतिबेला कसैबाट साथ नपाएको र अहिले पनि त्यही विचारमा निर्भिक रहेको उनको निष्कर्ष थियो । तथापि, त्यतिबेला हटाउने उपयुक्त समय भए पनि अहिलेको समय अनुकूल नरहेको उनले बताएको केन्द्रीय सदस्यको भनाइ छ ।
“म ओलीको पक्षमा लागेको भनेर नबुझ्नुस्,” गौतमले केन्द्रीय सदस्यलाई सम्झाउँदै भने, “पार्टी बचाउने दायित्व आएको छ । अहिले केपी ओलीलाई दुवै पदबाट हटाउने समय छैन । कोरोनाको महामारी छ । सरकारले बाह्य आक्रमण पनि बेहोर्न परिरहेकै छ । यस्तो बेलामा हटाउँदा झन् दुघर्टना होला भनेर मात्रै नहटाउँ भनेको हुँ । म ओलीको पक्षमा लागेको पनि छैन, यसरी बुझ्नु उपयुक्त हुँदैन ।”
गौतमले यसो भनिरहँदा केन्द्रीय सदस्यहरूले प्रतिवाद गरेका थिए । उनीहरुले कहिले कता, कहिले कता उभिँदा र आफ्नै विचारको विपक्षमा लाग्दा ढुलमुले देखिएको, विचारमा अस्थिर रहेको सन्देश गएको भन्दै एउटा विचार बोकेर हिँडे जीवनभर साथ दिने भन्दै गौतमलाई सम्झाएका थिए ।
तर, गौतमले ओली या इतरसमूहको पक्षमा उभिँदा पार्टी विभाजनको दिशामा जाने भन्दै सचेत र कर्तव्यनिष्ठ कार्यकर्ताहरूले मिलाउन भूमिका खेल्न लाग्नुपर्ने बताएका थिए । सहमतिको विन्दु त्यही ६ बुँदा हुनसक्ने भन्दै उनले पुनः बचाउ गरेका थिए ।
प्रतिक्रिया