Pura Samachar

रुसले बनाइरहेको कोरोनाविरुद्धको खोपमा डब्लूएचओको शंका

प्रकाशित: August 5, 2020

रुसले बनाइरहेको कोरोनाविरुद्धको खोपमा डब्लूएचओको शंका

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रुसले बनाइरहेको कोरोनाविरुद्धको खोपका विषयमा शंका व्यक्त गरेको छ । रुसले अक्टोबरमा कोरोनाको खोप विकास गरिसक्ने जनाएको छ ।  विश्व स्वास्थ्य संगठनले खोप उत्पादनका लागि केही निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिश्चियन लिन्डमिरेलाई प्रेस ब्रिफिङमा सोधिएको थियो कि यदि यसको तेस्रो चरणको परीक्षण बिना खोप उत्पादन गर्न अनुमति पत्र जारी गरियो भने के संगठनले यसलाई खतरनाक ठान्छ ?

रसियाका स्वास्थ्यमन्त्रीले शनिबार रसियाले अक्टुबरदेखि कोविड १९ विरूद्ध ठूलो परिमाणमा खोप अभियान सुरु गर्ने तयारी गरिरहेको बताएका थिए ।  रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले खोपको शुल्क नलिने र सबैभन्दा पहिले यो डाक्टर र शिक्षकहरूलाई दिइने बताएको बीबीसीले उल्लेख गरेको छ ।
रूसी स्वास्थ्यमन्त्रीका अनुसार उत्पादनसँगै खोपको क्लिनिकल परीक्षण पनि जारी रहनेछ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिश्चियन लिन्डमिरेले भने, “जब यस्तो समाचार आउँछ वा त्यस्ता कदमहरू चाल्छन्, सावधान हुनुपर्दछ ।” उनले त्यस्ता समाचारका तथ्यहरूलाई होशियारीका साथ परीक्षण गर्नुपर्ने उनले बताएका छन् ।

क्रिश्चियन लिन्डमिरेले अनुसन्धानकर्ताहरूले दाबी गर्नु र खोप प्रभावकारी भए नभएको क्लिनिकल परीक्षणको सबै चरणहरूको माध्यमबाट पाउनु बीच ठूलो भिन्नता रहेको बताएका छन् । रसियामा उत्पादन हुने खोपमा आफूहरुले आधिकारिक रूपमा तथ्यगत कुराहरु केही नदेखेको बताएका छन् ।

यदि आधिकारिक रूपमा खोप विकास भइरहेको भए युरोपमा रहेको विश्व स्वास्थ्य संगठनका कार्यालयलाई यसबारे जानकारी हुने उनले बताए ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ताले भने, “सुरक्षित खोप बनाउने धेरै नियमहरू बनाइएका छन् र यससम्बन्धी निर्देशिकाहरू पनि छन् । यसको अनुशरण गर्नु महत्वपूर्ण छ । हामीले खोप वा कुनै उपचार केमा प्रभावकारी छ र यसले रोग बिरूद्ध लड्न मद्दत पुर्याउन सक्छ भनेर हामीलाई थाहा छ ।”

उनले तय गरिएको निर्देशिका अनुसार उपचार वा खोपको कुनै साइड इफेक्ट छ वा राम्रोभन्दा धेरै हानी छ त्यसबारे पनि बुझ्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।  विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा क्लिनिकल परीक्षण भइरहेका २५ खोप सूचिकृत गरेको छ । १३९ खोप अहिले प्रि–क्लिनिकल परीक्षणका क्रममा रहेका छन् ।

प्रतिक्रिया