Pura Samachar
  • खुमलटार गठबन्धनमा भागबण्डा : राष्ट्रपति झलनाथ, प्रधामन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपाल

    प्रकाशित: २ महिना पहिले

    खुमलटार गठबन्धनमा भागबण्डा : राष्ट्रपति झलनाथ, प्रधामन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपाल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको बताएका छन् ।

    उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत १० वर्षअघि प्रचण्डलाई अपदस्थ गर्न बाबुराम भट्टराई, रामबहादुर थापा बादल, मोहन वैद्य किरण र नारायणकाजी श्रेष्ठले योजना बनाएको उल्लेख गर्दै भनेका छन्, “१० वर्षपछि प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्न फेरि खुमलटार रिहर्सल भइरहेको छ । यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ?”

    उनले नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेको र देशीविदेशी षडयन्त्र र चलखेल जारी भएको बताएका छन् । उनले खुमलटार गठबन्धनको रिहर्सलमा आकांक्षाको बाँडफाँट भएको बताएका छन् ।

    उनका अनुसार खुमलटार गठबन्धनमा राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भागबण्डा भएको खुलासा गरेका हुन् ।

    बुधबार चारैजनाले गोप्य पत्रकार भेला बोलाएर नयाँ रणनीतिमार्फत अघि बढ्ने र ओलीविरुद्ध वारपारको नीति लिने योजना बनाएका थिए । उनीहरुले गोप्य पत्रकार भेलामा भनेका थिए, “प्रधानमन्त्री ओलीले हामीलाई छलफल नै गर्न दिनुभएन । मनोमानी रुपमा पार्टी र सरकार सञ्‍चालन गर्नुभयो ।”

    प्रतिक्रिया