काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् ।
२६ औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले दशकौं लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।
ओलीले नेपालको संविधान र प्रचलित कानुनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गरेका छन् ।
सरकारको यस उद्देश्यलाई सफल पार्न प्रधानमन्त्री ओलीले आ–आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा आह्वानसमेत गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गरेका छन् ।
प्रतिक्रिया