Pura Samachar

मन्त्रिपरिषद्‌ हेरफेर: को-को छन् ‘रेड जोन’मा र कसलाई छ ‘ग्रिन सिग्‍नल’ ?

प्रकाशित: August 18, 2020

मन्त्रिपरिषद्‌ हेरफेर: को-को छन् ‘रेड जोन’मा र कसलाई छ ‘ग्रिन सिग्‍नल’ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व र प्रधानमन्त्रीको राजीनामाको विषयलाई ‘सेफ ल्यान्डिङ’ गर्न मन्त्रिपरिषद्‌को हेरफेरको प्रस्ताव आएको छ । यसअघि २०७६ मंसिरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । त्यस समयमा पनि पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्नकै लागि सात मन्त्री हटाएर उनले आठ जना मन्त्री थपेका थिए ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठनको साढे दुई वर्ष पूरा भएको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न फेरि मन्त्रिपरिषद्‌ पुनर्गठनको तयारी भएको हो । पाँच वर्षे कार्यकाल लिएर २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भदौ ३ गते (बुधबार) साढे दुई वर्ष पूरा हुँदैछ। मन्त्री हेरफेरबारे प्रधानमन्त्री समेत रहेका नेकपाका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्व तहमा छलफल भइरहेको नेकपाका उपनेता सुवास नेम्वाङले जनाएका छन् ।

यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई रहने, पार्टीको कामहरु प्रचण्डले सम्हाल्‍ने र मन्त्रिपरिषद्‌ हेरफेर गर्नेलगायतका ६ बुँदासहितको प्रस्ताव पेश गरेका थिए । सोही प्रस्ताव अनुसार नै प्रधानमन्त्रीमा ओलीलाई कायमै राखेर मन्त्रिपरिषद् पुनः गठन गर्ने, महत्वपूर्ण नियुक्तिहरु पार्टीकै सल्लाहअनुसार गर्ने, प्रधानमन्त्री ओलीले कार्यशैली बदल्ने, महाधिवेशनको तयारी अघि बढाउनेलगायका विषयमा ओली-दाहालबीच मोटामोटी सहमित भएपछि त्यसलाई व्यवस्थित बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले दुई अध्यक्षले गठन गरेको कार्यदललाई अनुमोदनसमेत गरेको छ । कार्यदलले प्रतिवेदन पेश गरेर त्यसलाई सचिवालयले अनुमोदन गरेर पार्टीभित्रको विवाद सकिए लगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी ओली-दाहालले गरेका छन् ।

कस्तो मन्त्रीहरु परे रेड जोनमा ? 

स्रोतका अनुसार बाहिरिने मन्त्रीमा सुरुमै नियुक्त भएका र पछि नियुक्त भएका गरी मिश्रित हुने गरी छलफल भइरहेको छ । स्रोतका अनुसार २ वर्ष मन्त्री भइसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र खाने पानी बिना मगर ओली नेतृत्वको क्याबिनेटमा सुरुदेखि नै छन् ।

बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइए पनि नेकपाभित्रको शक्ति संघर्षमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई प्रधानमन्त्रीले निरन्तरता दिनसक्ने जनाइएको छ । तीबाहेक पनि ज्ञवाली, पुन र बस्‍नेतले पनि निरन्तरता पाउने छन् ।

पछि नियुक्त भए पनि कमजोर पर्फमेन्स भएका र पार्टीभित्रको शक्ति संघर्षमा भूमिका खेल्न नसक्नेहरु मन्त्रीबाट बाहिरिने छन् । युवराज खतिवडालाई राजीनामा नगराए पनि राष्ट्रियसभामा पुन: मनोनित नभएमा उनको पद यही भदौ २० गतदेखि सकिँदैछ । संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान अन्तरगत उनी गत फागुन २० गते मन्त्री नियुक्त भएका थिए । उनलाई पुन: नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्र फरक फरक मत रहेको पाइन्छ।

यसअघि गत मंसिर ७ गते एकैपटक ६ जना मन्त्री र तीन जना राज्यमन्त्री ओलीले हेरफेर गरेका थिए । त्यसअघि गत वर्ष साउन १५ गते रवीन्द्र अधिकारीको निधनका कारण रिक्त रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको थियो ।

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले विवाददास्पद अभिव्यक्ति दिएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ओलीले नियुक्त गरेका थिए । त्यस्तै गत फागुन ५ गते शिवमाया तुम्बाहाम्फे मन्त्री नियुक्त भएकी थिइन् ।

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ ।

को को हुँदैछन् नयाँ मन्त्री ?

नयाँ मन्त्री बन्‍ने ग्रिन सिग्‍नलमा रहेका नेकपा नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतको विषयमा छलफल भइरहेको छ ।

त्यस्तै नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भइरहेको जनाइएको छ । तर श्रेष्ठ सरकारमा गए यसअघि उनको कोटाबाट मन्त्री बनेका गिरीराजमणि पोखरेल सरकारबाट बाहिरिनुपर्नेछ ।

नारायकाजी र भिम रावल मन्त्री बन्दा मन्त्रालयको व्यवस्थापनमा समस्या हुने देखिन्छ । उपप्रधानमन्त्री र गृह र परराष्ट्र सम्हाली सकेका उनीहरुलाई मन्त्री बन्दा ईश्वर पोखरेल र रामबहादुर थापामध्ये एकजना बाहिरिनु पर्ने हुन्छ ।

प्रतिक्रिया