Pura Samachar
  • साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई तान्ने प्रयास

    प्रकाशित: ३ हप्ता पहिले

    साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई तान्ने प्रयास

    १६ भदौ काठमाडौं । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ ।

    विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन गरेर वार्ता अगाडि बढाएका छन् । विवेकशीलको संवाद समिति रञ्जु दर्शनाको नेतृत्वमा छ भने साझाको नेतृत्व समीक्षा बास्कोटाले गरेकी छन् । उनीहरु दुवै वार्ता प्रक्रिया सकारात्मक र निस्कर्षउन्मुख रहेको बताउँछन् ।

    ‘हामीले विगतको विभाजनको समीक्षा गरेर आत्मालोचनासहित एकता प्रक्रिया थालेका हौं,’ विवेकशील नेतृ रञ्जुले भनिन्, ‘अबको एकता फराकिलो दायरामा हुनेछ र पुराना गल्तीहरु दोहोरिने छैनन् ।’

    समीक्षाले पनि यही भाव व्यक्त गरिन् । उनले भनिन्, ‘वैकल्पिक शक्ति एक हुनैपर्छ भन्ने निस्कर्षका साथ वार्ता एकदम सकारात्मकरुपमा अघि बढेको छ । निषेधाज्ञाले गर्दा अलिकति सुस्ताएको मात्र हो । वार्तामा अहिलेसम्म धेरै उपलब्धी भएका छन्, तर, कम्प्लीट प्याकेट आएपछि मात्रै बाहिर ल्याउने कुरा भएको छ ।’

    विवेकशील र साझाले यसपालिको एकता फराकिलो दायरामा हुने बताएका छन् । यस्तो एकतापछि निर्माण हुने पार्टी नेकपा र कांग्रेसको विकल्पका रुपमा उभिने दाबी उनीहरुको छ ।

    विवेकशील र साझा मात्रै नभएर समान भावना भएका अन्य राजनीतिक समूह र संगठनलाई पनि समेटेर ठूलो मोर्चा बनाउने प्रयास भइरहेको रञ्जुले बताइन् । यस्ता व्यक्ति र समूहहरुको सुचीकरण र अनौपचारिक कुराकानी भइरहेको उनले जानकारी दिइन् । यद्यपि कोरोना र निषेधाज्ञाका कारण औपचारिक संवाद सुरु हुन सकेको छैन ।

    हिरामणि पौडेलको नेतृत्वमा रहेको सहकारी पार्टी भने विवेकशीलमा मिसिन तयार भइसकेको छ । केही दिनमै औपचारिक सहमति गरेर विवेकशीलले सहकारीलाई आफूमा विलय गराउने छ । विवेकशीलले समेट्न चाहेकामा रमेश खरेलदेखि निगम हुमागाईं र ज्ञानेन्द्र शाहीसम्म छन् ।

    साझा पार्टीकी संयोजक बास्कोटाले पनि एकता प्रक्रिया दुई पार्टीमा मात्रै सीमित नरहने बताइन् ।

    ‘हामी तेस्रो ठूलो दल बनाउने उद्देश्यसहित वैकल्पिक समूह, व्यक्तिहरु को–कहाँ हुनुहुन्छ सबैलाई एक ठाउँमा ल्याउने प्रयास गर्नेछौं । तर, अहिले विवेकशीलबाहेक अरुसँग औपचारिक कुराकानी सुरु भएको छैन,’ उनले भनिन् ।

    कति सम्भव ?

    साझा र विवेकशीलले सुसंस्कृत राजनीतिको वकालत गर्दै आएका छन् । तर, पार्टी एकता दुई वर्ष पनि टिकाउन नसकेर विभाजित भएपछि उनीहरु पनि ‘उही ड्याङ्को मुला’ भएको आरोप लागेको छ । यो आरोपलाई मेट्न उनीहरुले निकै कसरत गर्नुपर्ने छ ।

    अर्कोतर्फ, यी दुई दलबीच कार्यशैलीगत भिन्नताहरु छन् । नेतृत्वमा केही प्रबुद्ध व्यक्तिहरु रहेको साझा र युवाहरुको बाहुल्य रहेको विवेकशीलको पारा ठ्याम्मै मिल्दैन । यही शैलीगत भिन्नताका कारण उनीहरु विभाजनमा पुगे । अबको एकतामा पनि पहिलेको अवस्था नदोहोरिएला भनेर आश्वस्त हुन सकिन्न ।

    तर, पहिलेभन्दा अवस्था अलिकति बेग्लै छ । दुवै दलले चुनावमा धक्का खाएका छन् । साझाबाट हालै दुई हस्तिहरु डा. सुर्यराज आचार्य र मुमाराम खनाल बाहिरिए । विवेकशीलले पनि पुरानो आकर्षण गुमाउँदै गइरहेको छ । यसर्थ एकप्रकारले दुवै दल यथार्थको धरातलमा ओर्लिएका छन् । त्यसैले अबको एकता पहिलेभन्दा परिपक्व र दिगो बन्ने आशा राख्न सकिन्छ ।

    तर, उनीहरुले चाहेजस्तो विभिन्न अभियानबाट समर्थक कमाएका व्यक्तिहरु यो एकता प्रक्रियामा समेटिनचाहिँ सहज छैन । किनकि उनीहरुको वैचारिक धार एवं कार्यशैलीमा विविधता छ । गणतन्त्र ठीक कि राजतन्त्र, संघीयता ठीक कि एकात्मकता, हिन्दू राष्ट्र ठीक कि धर्मनिरपेक्षता भन्नेजस्ता आधारभूत मुद्दाहरुमा नै उनीहरु विभाजित छन् ।

    एउटै विचारधारा र एउटै नारा लिएर हिँडिरहेकाहरु समेत व्यक्तित्वको टकरावले गर्दा मिल्न नसकिरहेको स्थिति छ । उदाहरणका लागि रमेश खरेल र ज्ञानेन्द्र शाहीलाई नै लिन सकिन्छ । ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली अभियान’ ले वैचारिक मतभेद देखाएर निष्काशित ग¥यो । त्यहाँबाट निकालिएपछि ज्ञानेन्द्रले रमेश खरेलसँग मिलेर नयाँ अभियान सुरु गर्ने घोषणा गरे । तर, घोषणा कार्यक्रमको अघिल्लो दिन त्यो अभियानबाट रमेश खरेल अलग भए । उनले बेग्लै अभियान चलाइरहेका छन् । जबकि रमेश खरेल र ज्ञानेन्द्र दुवैले चलाएका अभियानले भ्रष्टाचारलाई मूल मुद्दा बनाएका छन् ।

    साझा पार्टीसँग एकता वार्ता जारी रहेका बेला विवेकशीलले आफ्नो नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ । यसबाट साझाका नेताहरु केही शशंकित बनेका छन्

    ‘हाम्रो नेपाल हामी नेपाली’ नामक अभियान चलाइरहेका युवा अभियन्ता शाहीले साझा र विवेकशील दुवैका नेताहरुसँग एकताको विषयमा कुराकानी भएको बताए । तर, कुराकानी सकारात्मक नबोको उनको भनाइ छ ।

    ‘केही दिनअघि रवीन्द्र मिश्रजीसँग लामो छलफल भएको थियो । हामीबीच केही आधारभूत विषयहरुमा मतभिन्नता देखियो । संघीयता खारेज गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने, सनातन हिन्दू राज्यलाई पुनस्थार्पित गर्नुपर्ने जस्ता मुद्दामा हाम्रो कुरा मिल्न सकेन,’ उनले भने ।

    शाहीको भनाइमा मिश्र अहिलेकै संविधानलाई जस्ताको तस्तै स्वीकारेर अघि बढ्ने पक्षमा देखिएका छन् । तर, आफूहरुले संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार्न नसक्ने उनले बताए ।

    ‘यी विषयहरुमा उहाँहरु हाम्रो लाइनमा आउनुभयो भने एकता सम्भव पनि छ,’ शाहीले भने । उनले विवेकशीलका अध्यक्ष मिलन पाण्डे र प्रदेश सांसद रमेश पौडेलसँग पनि आफ्नो कुराकानी भइरहेको जानकारी दिए ।

    नेतृत्व कसले गर्ने ? 

    हरेक दलहरुबीच एकता प्रक्रियामा अन्तत्वगत्वा निर्णायक बन्ने विषय हो– नेतृत्व । अहिलेसम्म नेतृत्वको सवालमा दुवै दल ‘तैं चुप मै चुप’ को अवस्थामा छन् ।

    अघिल्लोपटक साझा र विवेकशील एकतामा रवीन्द्र मिश्र र उज्जल थापाले एक–अर्काको नेतृत्व स्वीकार्न तयार नभएपछि दुवैजना बराबरी हैसियतमा अध्यक्ष बनेका थिए । यसपाली विवेकशलिमा युवा नेता मिलन पाण्डे आएका छन् । उनी पहिले पनि आफ्नो मातहतमा रहेर काम गरेकाले अबको नेतृत्वका लागि आफूलाई चुनौति नदिने विश्वास मिश्रको छ । मिलन भने यस विषयमा खुलेका छैनन् ।

    पार्टीको सानो आकारका बाबजुद मिडियामा राम्रो स्पेस पाइरहेका मिलनमा पनि महत्वाकांक्षा बढ्दो छ । यता रवीन्द्र मिश्र देशकै नेतृत्व गर्ने आकांक्षा बोकेर राजनीतिमा लागेका व्यक्ति हुन् । वरिष्ठता र लोकप्रियताको हिसाबले नेतृत्वको सवालमा पक्कै पनि मिश्रको दाबेदारी बलियो हुनेछ ।

    संवाद समितिमा रहेका नेतृहरुले एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल प्रवेश नगरेको बताए ।

    रञ्जुले भनिन्, ‘नेतृत्व र संगठनको विषयमा प्रवेश गर्न बाँकी छ । तर, हामी ठूलो सोच लिएर अघि बढेका छौं सम्भवतः नेतृत्वको विषयले एकता नअड्काउला ।’

    उनले थपिन्, ‘संवाद समितिले नै सबै टुंगो लगाउने होइन । एउटा सहमति जुटिसकेपछि हामी प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछौ । यो प्रतिवेदनमाथि पार्टीको तल्लो तहसम्म छलफल हुन्छ, अनि मात्र निर्णयमा पुगिन्छ ।’

    साझाकी समिक्षाले भनिन्, ‘नेतृत्वको विषयमा छलफल हाम्रो माथिल्लो प्राथमिकतामा छैन । अरु सबै विषयहरु मिलेपछि त्यसमा आउँछौं ।’

    विवेकशीलको नयाँ दस्तावेज

    साझा पार्टीसँग एकता वार्ता जारी रहेका बेला विवेकशीलले आफ्नो नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ । यसबाट साझाका नेताहरु केही शशंकित बनेका छन् ।

    गत भदौ ९ गते सार्वजनिक गरेको राजनीतिक दस्तावेजमार्फत विवेकशीलले आफूमा वैचारिक प्रष्टता ल्याउन खोजेको छ । यद्यपि, पार्टीको मूल नीति र लक्ष्यमा आधारभूत परिवर्तन छैन ।

    दस्तावेजअनुसार विवेकशीलले ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ लाई आफ्नो मूल दर्शनका रुपमा अपनाउने छ भने ४ खम्बे सिद्धान्त (सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, सामाजिक न्याय र दिगो आत्मनिर्भर अर्थतन्त्र) लाई निरन्तरता दिइएको छ ।

    दस्तावेजको एउटा बुँदा रोचक छ । यसमा भनिएको छ, ‘विवेकशील नेपाली दल इतिहासमा राज्य र तत्कालीन शासकहरुद्वारा गरिएका सम्पूर्ण दमन, उत्पीडन र विभेदका निम्ति उक्त समुदाय, वर्ग र प्रत्येक व्यक्तिहरुप्रति क्षमायाचना गर्दछ ।’

    दस्तावेजमा नेपाललाई संसारसामु ‘गुरु–राष्ट्र’कारुपमा स्थापित गरिने उल्लेख छ । यसको आशय भने खुलाइएको छैन । संघीयता धर्मनिरपेक्षता र गणतन्त्रलाई विवेकशीलले स्वीकारेको मात्र नभएर थप मजबुत बनाउने बताएको छ । यसैगरी, यसले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय प्रणालीको वकालत गरेको छ ।

    राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने अवधारणा विवेकशीलले अघि सारेको छ । १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको पार्टीले वकालत गरेको छ ।

    प्रतिक्रिया