Pura Samachar

देउवाको तयारी : आफैँ लड्ने, निधिलाई नेतृत्व नदिने

प्रकाशित: September 3, 2020

देउवाको तयारी : आफैँ लड्ने, निधिलाई नेतृत्व नदिने

काठमाडौं । मुलुक कोरोनाले आक्रान्त छ । सरकारले जनताका दैनिक समस्या सम्बोधन गर्न सकिरहेको छैन । न त कोरोनाको चपेटामा रहेका नागरिकलाई राहतको व्यवस्था गर्न सकेको छ । सरकारका कामकारवाहीमा कमजोरी देखिए प्रमुख प्रतिपक्ष दलले सचेत गराउने र गलत गरेको भए सच्याउन दबाब दिने काम प्रमुख प्रतिपक्षको हो तर त्यो पनि हुन सकेको छैन ।

प्रतिपक्ष कांग्रेस अहिले आगामी महाधिवेशनको आन्तरिक तयारीमा छ ।

कांग्रेसले नयाँ नेतृत्व चयनका लागि आगामी फागुन ७–१० मा संघीय राजधानी काठमाडौंमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण तोकिएको मितिमा महाधिवेशन सम्पन्न नहुने निश्चित देखिन्छ तर पनि नेताहरुले जोडघटाउ जारी राखेका छन् ।
विशेषगरी कांग्रेस उपसभापति विमलेन्द्र निधिको उम्मेदवारीको आन्तरिक तयारीले कांग्रेसमा तरंग सिर्जना गरेको छ ।

निधि आफ्नो तयारीमा अडिग रहे भने कांग्रेसको आगामी महाधिवेशनमा नयाँ समीकरण बन्न सक्ने आशंका पनि धेरैले गरेका छन् । कतिपयले देउवाले नै निधिलाई छाडिदिने, या निधिले अहिले बार्गेनिङमात्रै गरिरहेको पनि बताउँछन् । सभापति देउवाले आगामी कार्यकालका लागि आफैँ दोहोरिन चाहेका छन् भने अन्य आकांक्षीहरु उनलाई आगामी महाधिवेशनमा जसरी पनि रोक्ने रणनीतिको तयारीमा जुटेका छन् ।

इतर समूहमा रहेका आकांक्षीहरुको राणनीतिलाई देउवाकै विश्वासपात्र निधिले गरेको दाबीले थप बल पुर्‍याएको छ ।

साउन अन्तिम साता सभापति देउवासँग बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले उनलाई १४ औं महाधिवेशनमा आफूलाई सघाउन र १५ औं महाधिवेशनका लागि सभापति पदको तयारी गर्न सुझाएका थिए ।

उपसभापति निधिले देउवाकै सहयोगमा आफू आशन्न महाधिवेशनमा सभापति पदको उम्मेदवारीको तयारीमा लागेको भन्दै देउवालाई जसरी पनि सघाउन आग्रह गरेका थिए । उनले १३ औं महाधिवेशनमा आफूलाई दिएको ‘वचन’ पनि भेटमा स्मरण गराएको कुरा सार्वजनिक भएको थियो । यद्यपि, निधिले आफूले पार्टीको आगामी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेको प्रतिक्रिया दिएका छन् । कांग्रेसलाई बलियो शक्तिका रूपमा अगाडि बढाउने सोच बनाएर आगामी नेतृत्व सहमतिमा चयन हुनुपर्ने उनले आशय व्यक्त गरिरहेका छन् ।

तर, सभापति देउवा निधिका लागि सभापति पद नछाड्ने मनस्थिति बनाएर बसेका छन् ।  “सभापतिले अरु कसैका लागि छाड्ने भन्ने कुनै कुरै छैन । उहाँ आफैँ लड्नुहुन्छ, तयारी पनि गर्नुभएको छ,” देउवाका स्वकीय सचिव भानु देउवाले  भने ।

सभापति देउवाका विश्वासपात्र मध्येका एक केन्द्रीय सदस्यले पनि उपसभापति निधिका लागि बाटो खाली गर्ने कुनै सम्भावना नभएको प्रतिक्रिया दिएका छन् । “हाम्रो समूहबाट सभापतिजी निर्विकल्प हो भन्ने थियो । विमल दाइ (निधि) को कदमले अब निर्विकल्प रहनु त भएन,” ती नेताले भने, “आजका मितिसम्म सभापतिले विमल दाइलाई छोड्ने भन्ने कुरो रत्तिभर पनि सम्भावना छैन ।”

निधिसँगै कांग्रेसको केन्द्रीय सदस्य बनेका अर्का नेताले पनि संस्थापन पक्षबाट देउवानै उम्मेदवार हुने प्रतिक्रिया दिए ।

“टिम मान्ने हो भने माग्ने–छोड्ने विषयमा बसेर छलफल हुनुपर्‍यो । अरु नेताहरुको पनि राय–सल्लाह लिनुपर्‍यो । अनि निष्कर्ष निस्कन्छ,” ती नेताले भने, “माग्ने र छोड्ने विषयमा दुई नेताबीचको मात्रै सर्वेसर्वा निर्णय हुँदैन । एउटा टिममा बसिसकेपछि दुई जनाबीचको लेनदेन जस्तो कहाँ सम्भव हुन्छ ।”
उनले सभापति देउवाकै निरन्तरताको कारण, देउवाले छाड्नुपर्ने तर्क राख्नुको कारण र देउवाले छोड्दा निधिलाई मात्रै छोड्नुपर्ने कारणका बारेमा आपसमा बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।

“सभापतिकै निरन्तरताको कारण के ? छोड्नुपर्ने तर्क राख्ने कारण के ? छोड्दा उहाँलाई नै छोड्नु पर्ने तर्क के ?,” ती नेताले भने, “ग्रास रुटको भावना के छ ? अर्को व्यक्ति नेतृत्वमा किन आउनुपर्‍यो ? आउँदा उहाँ (निधि) लाई नै किन बनाउनुपर्‍यो ? यसका बारेमा टिममा रहेका महत्वपूर्ण नेताहरु बसेर सरसल्लाह गरिनुपर्छ ।”

कार्यतालिका नै प्रभावित हुन सक्छ महाविधेशनको ?

कोभिड–१९ महामारीले कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिकाअनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न सकिरहेको छैन । पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ । यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।

विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ ।

कांग्रेस केन्द्रीय कार्यालयले कोभिड–१९ महामारीका कारण गत असार २२ गते परिमार्जन गरिएको महाधिवेशन कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ । कार्यालयले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेर कार्यतालिकालाई संशोधन गरिने पनि जनाएको छ ।   फागुनमा महाधिवेशन गर्न सम्भव नभए सभापति शेरबहादुर देउवाले संविधानले गरेको व्यवस्थाअनुसार महाधिवेशन छ महिना पछाडि धकेल्ने अड्कल कांग्रेसवृत्तमा चलेको छ ।

संस्थापन पक्ष पार्टीको १४ औं महाधिवेशन आगामी भदौमा गर्ने मनसायमा देखिएको छ भने इतर समूह आगामी जेठभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । आशन्न महाधिवेशनका लागि दुबै समूहमा गरी झण्डै एक दर्जन नेताहरुले सभापति पदका लागि आकांक्षा राखेका छन् ।  जसमा वर्तमान सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जननरसिंह केसी, प्रकाशमान सिंहलगायतका नेताहरु रहेका छन् ।

प्रतिक्रिया