आइतबार बिहानमात्रै मन्त्रिपरिषद् बैठकको सूचना पाएका एक मन्त्रीलाई आज प्रधानमन्त्रीले केही आकस्मिक निर्णय गर्न सक्ने अनुमान थियो।
‘हिजो राति चाँडै सुतेको थिएँ। १० बजेपछि मात्रै खबर आएको रहेछ,’ एक मन्त्रीले भने,’केही आकस्मिक कारणले प्रधानमन्त्रीले बैठक बोलाउनुभएको होला भन्ने लागेको थियो।’
केही मन्त्रीले भने आजको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा गर्दै अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिन बोलाएको हुन सक्ने आकलन गरेका थिए।
आइतबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आएपछि सिधै मुख्य सचिव लोकदर्शन रेग्मीलाई आज के एजेण्डा छ निकाल्नुस् त भनेका थिए। रेग्मीले मन्त्रिपरिषदका एजेण्डा प्रस्तुत गरे।
बैठकले नेपाल कृषि अनुसन्धान परिषद(नार्क)को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गरेको छ। त्यसैगरी सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयु गर्ने निर्णय पनि आजैको बैठकले गरेको छ। नेपाल र इजरायल सरकारको संयुक्त लगानीमा स्थापना हुन लागेको एमओयुमा हस्ताक्षर गर्ने सहमति नेपालका लागि इजरायली राजदूत अञ्जन शाक्यलाई दिइएको छ। राजदुत शाक्यले सोमबार सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको छ। कृषि मन्त्रालय स्रोतले सम्झौता हुने भए पनि समयबारे टुंगो लागि नसकेको बताएको छ।
‘मन्त्रालयभित्रकै नियमित एजेन्डामा छलफल र निर्णय भएपछि मलाई अन्तिमसम्म पनि केही न केही हुन्छजस्तो लागेको थियो। मन्त्रालय टुक्र्याउने निर्णय आजै हुने हो किजस्तो पनि लागेको थियो,’ ती मन्त्रीले भने,’तर मन्त्रालयका नियमित एजेण्डा टुंगिएपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद भन्नुभयो।’
मन्त्रालयको भागबन्डा मिलाउन प्रधानमन्त्री ओलीले २१ ओटा मन्त्रालयलाई २४ बनाउने तयारी गरेका छन्। मन्त्रालय टुक्र्याउने निर्णय मन्त्रिपरिषदले गर्नुपर्छ।
ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओली आजको बैठकमा हँसिलो मुद्रामा थिए। उनले अरू दिनमा केही मन्तव्य राख्ने भए पनि आइतबारको बैठकमा उल्लेखनीय केही बोलेनन्।
मन्त्रिपरिषद बैठक बस्नुभन्दा पहिला प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।
प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले दुई अध्यक्षको भेट सौहार्दपूर्ण भएको र आज भोलिमै मन्त्रिपरिषद पुनर्गठन हुने दाबी गरेका थिए।
स्रोतका अनुसार दुई अध्यक्षका बीचमा अझै पनि मन्त्रिपरिषद पुनर्गठनका लागि मापदण्ड तयार हुन सकेको छैन।
प्रधानमन्त्री ओलीले मन्त्री नफेरिकन खाली रहेका मन्त्रालय र टुक्र्याइएका मन्त्रालयमा मात्रै मन्त्री राख्न चाहेका छन्। यसो गर्दा तीन राज्यमन्त्री हटाउने हो भने ६ जना मन्त्री थप्न मिल्छ। तर प्रचण्डले मापदण्डका आधारमा पुराना हटाएर नयाँ थप्नुपर्ने अडान राखेका कारण मन्त्रिपरिषद पुनर्गठनमा ढिलो भएको प्रचण्ड निकट एक नेताले बताए।
‘मन्त्रिपरिषद पुनर्गठनमा दुई अध्यक्ष सहमत भएको भए पनि पुनर्गठनको मापदण्डबारे सहमति हुन नसक्दा ढिलो भइरहेको छ,’ ती नेताले भने,’प्रधानमन्त्रीले अरू मन्त्री नचलाइकन ६ जनामात्रै थप्न खोज्नुभएको छ। अध्यक्षले केही न केही पुनर्गठनको सन्देश दिनुपर्छ भन्नुभएको छ। त्यसमै अलि कुरा मिलेको छैन। कुरा मिल्नसाथ तुरून्तै पुनर्गठन हुन्छ।’
प्रतिक्रिया