Pura Samachar
  • ४० वर्षमै दोश्रो पटक प्रधानमन्त्री बनेर इतिहास रच्ने ज्यासिन्डा आर्डेन

    प्रकाशित: १ महिना पहिले

    ४० वर्षमै दोश्रो पटक प्रधानमन्त्री बनेर इतिहास रच्ने ज्यासिन्डा आर्डेन

    ज्यासिन्डा आर्डेन जम्मा ३७ वर्षकी थिइन्, जब २०७४ सालमा उनी पहिलोपल्ट न्यूजिल्यान्डको प्रधानमन्त्री भइन्।

    त्यति बेला उनले दुईवटा इतिहास रचेकी थिइन्।

    पहिलो, न्यूजिल्यान्डको १५० वर्ष इतिहासमा उनी सबभन्दा कम उमेरकी प्रधानमन्त्री भइन्। दोस्रो, उनको लेबर पार्टीले नौ वर्षदेखि सत्तामा रहँदै आएको नेसनल पार्टीलाई चुनावमा पछार्‍यो।

    त्यसयता ज्यासिन्डा देशभित्र मात्र होइन, संसारैभरि लोकप्रिय छिन्। आफ्नो उदार, समावेशी र बहुलवादी नीतिले उनलाई संसारकै राजनीतिक ‘सेलेब्रिटी’ बनाएको छ।

    उनै ज्यासिन्डा आर्डेन यसपालि फेरि अत्यधिक बहुमतका साथ दोस्रो कार्यकालका लागि विजयी भएकी छन्।

    शनिबारसम्म प्राप्त आमनिर्वाचनको नतिजाअनुसार आर्डेनको लेबर पार्टीले ४९ प्रतिशत मत हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी नेसनल पार्टीले २७ प्रतिशत मत ल्याएको छ। प्रतिपक्षी दलले आफ्नो पराजय स्वीकार गरिसकेको छ।

    न्यूजिल्यान्डको १२० सिटको संसदमा लेबर पार्टीले ६४ सिट जित्ने अनुमान गरिएको छ। सन् १९९६ मा मिश्रित तथा समानुपातिक निर्वाचन प्रणाली लागू भएयता कुनै पनि दलले यति धेरै सिट जित्न लागेको पहिलोपटक हो।

    यो आमनिर्वाचन सेप्टेम्बर महिनामै हुनुपर्ने थियो। कोरोना महामारीका कारण एक महिना सारिएको हो।

    ‘न्यूजिल्यान्डका जनताले लेबर पार्टीलाई पछिल्लो ५० वर्षमै सबभन्दा ठूलो समर्थन जनाएको छ,’ विजयी भएपछि आर्डेनले आफ्ना समर्थकहरूलाई भनिन्, ‘हामी यो समर्थनको उचित कदर गर्नेछौं। म तपाईंहरूलाई बाचा गर्छु, हामी न्यूजिल्यान्डका प्रत्येक नागरिकको हित गर्ने पार्टी बन्नेछौं।’

     

    अहिले ४० वर्ष पुगेकी आर्डेनको निम्ति पछिल्लो तीन वर्षको कार्यकाल सहज भने थिएन। यसबीच उनले तीनवटा मुख्य चुनौती झेलिन्- क्राइस्टचर्च आतंकवादी हमला, ह्वाइट आइल्यान्ड ज्वालामुखी विष्फोट र कोरोना महामारी।

    यी तीनैवटा समस्यामा खेलेको कुशल नेतृत्वदायी भूमिकाले नै उनको लोकप्रियता चुलिएको हो।

    क्राइस्टचर्च हमला बेला एक सन्काहा बन्दुकधारीले अलनुर मस्जिद र लिनउड इस्लामिक सेन्टरमा अन्धाधुन्ध गोली चलाएका थिए। शुक्रबारको प्रार्थनामा भएको उक्त हमलामा ५० जनाको ज्यान गएको थियो। दर्जनभन्दा बढी घाइते भएका थिए।

    शोकको घडीमा प्रधानमन्त्री आर्डेनले सुझबुझपूर्ण नेतृत्व देखाइन्। यसले न्युजिल्यान्डवासीको घाउमा मल्हम लगायो। विश्व समुदायबाट पनि उनको नेतृत्वको प्रशंसा भयो।

    मुस्लिमहरूको धार्मिक क्षेत्र मस्जिदमा भएको उक्त हमलालाई ज्यासिन्डाले सुरूमै आतंकवाद भन्न हिच्किचाइनन्। ‘यो आतंकवादी हमला नै हो,’ उनले भनेकी थिइन्, ‘आज न्यूजिल्यान्डको इतिहासमै सबभन्दा कालो दिन हो।’

    यति मात्र होइन, संसदमा बोल्ने क्रममा उनले घटनामा संलग्न व्यक्तिको नाम आफूले कहिल्यै नलिने घोषणा गरिन्।

    ‘उनी आतंककारी हुन्। अपराधी हुन्। अतिवादी हुन्। मैले बोल्दा उनी नामविहीन हुनेछन्,’ ज्यासिन्डाले भनिन्, ‘म तपाईंहरूलाई पनि भन्न चाहन्छु, अरूको ज्यान लिनेको भन्दा जसले ज्यान गुमाए तिनीहरूको नाम लिनुस्। उनी सायद कुख्यात हुन चाहन्छन्, तर न्यूजिल्यान्डले उनलाई एउटा नाम पनि दिनुहुन्न।’

    उक्त घटनालगत्तै आर्डेनले लाइसेन्स लिएर बन्दुक राख्न पाउने कानुन परिवर्तन गरिन्। त्यसअघि न्यूजिल्यान्डको कानुनअनुसार लाइसेन्स लिएर कुनै पनि व्यक्तिले बन्दुक राख्न पाउँथ्यो।

    यस्तो कानुन अमेरिकामा पनि छ। अमेरिकामा पनि बेलाबेला सन्काहा बन्दुकधारीले सार्वजनिक स्थानमा आक्रमण गरेर निर्दोष नागरिकको हत्या गर्छन्। अमेरिकाले अहिलेसम्म बन्दुक राख्न पाउने कानुन परिवर्तन गर्न सकेको छैन। कयौं अमेरिकीले अनाहक ज्यान गुमाउनु परिरहेको छ।

    आर्डेनले भने न्यूजिल्यान्डमा त्यस्तो हुन दिइनन्। न्यूजिल्यान्ड संसारमै धेरै निजी बन्दुक राखिने मुलुकमा पर्छ।

    यसअघि सन् २०१७ मा बन्दुक राख्ने कानुनमा कडाइ गर्नुपर्ने संसदीय सुझावलाई तत्कालीन सरकारले अस्वीकार गरिदिएको थियो। ज्यासिन्डाले भने नागरिकको सुरक्षाका लागि बन्दुक कानुनमा परिवर्तन ल्याइन्।

    सन् २०१९ डिसेम्बरमा न्यूजिल्यान्डको ह्वाइट आइल्यान्डमा ज्वालामुखी विष्फोट हुँदा पनि आर्डेनले तत्कालै सहायताको हात बढाइन्। उक्त घटनामा १६ जनाभन्दा बढीको ज्यान गएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए। ज्यासिन्डाले पीडित परिवारप्रति सहानभूति प्रकट गर्नुका साथै तत्कालै राहत उपलब्ध गराउने निर्णय गरिन्।

    कोरोना महामारीमा पनि उनको सरकारले ‘कडा कदम, द्रुत कदम’ को नीति लिएको थियो। यसले अमेरिका र युरोपेली मुलुकहरूको दाँजोमा न्यूजिल्यान्ड महामारीलाई नियन्त्रणमा राख्न सफल छ।

    यहाँ अहिलेसम्म जम्मा १,८८३ जनालाई कोरोना संक्रमण भएको छ भने मृत्युसंख्या २५ मात्र छ। अहिले देशभरि जम्मा ४० जना सक्रिय कोरोना संक्रमित छन्।

    यति हुँदाहुँदै लामो समयको लकडाउन र सीमा बन्दले सर्वसाधारणको जीवनयापन नराम्ररी प्रभावित छ। न्यूजिल्यान्डको कुल गार्हस्थ्य उत्पादन १२ प्रतिशत घटेको छ। यो अवस्थामा आर्डेनको निम्ति दोस्रो कार्यकाल चुनौतीपूर्ण हुनसक्छ।

    उनका अगाडि महामारीलाई नियन्त्रणमा राख्नुपर्ने एउटा चुनौती छ भने अर्कातिर आर्थिक शिथिलताले उत्पन्न समस्या समाधान गर्नुपर्नेछ। आर्थिक सुधार गर्न सकिएन भने त्यसले ल्याउने चुनौती धान्न उनलाई गाह्रो पर्न सक्छ।

    फाइल तस्बिर।

    आर्डेनले सामाजिक क्षेत्रमा लागू गरेका कल्याणकारी कार्यक्रमहरू निकै लोकप्रिय भएका थिए। उनले कर कटौतीदेखि परिवारलाई दिइने घरायसी सहुलियत र विद्यार्थी भत्ता वृद्धि गर्ने कार्यक्रम ल्याएकी थिइन्। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि उनले ल्याएको सहुलियतपूर्ण आवास योजना धेरैले रुचाए।

    सार्वजनिक समारोहहरूमा निर्भीक प्रस्तुति र कल्याणकारी प्याकेज घोषणाले पनि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। स्थानीय सञ्चारमाध्यमहरूले उनको लोकप्रियतालाई ‘ज्यासिन्डामेनिया’ नाउँ दिएका थिए। र, यही ज्यासिन्डामेनियाले उनलाई दोस्रो कार्यकालका लागि सत्तामा पुर्‍याउने काम गर्‍यो।

    आर्डेन न्यूजिल्यान्डकै दोस्रो महिला प्रधानमन्त्री हेलेन क्लार्कलाई आफ्नो राजनीतिक जीवनको ‘प्रेरणा’ मान्छिन्। कुनै बेला राष्ट्रसंघ नेतृत्वका प्रबल दाबेदार मानिएकी क्लार्क स्वयं पनि आर्डेनलाई फ्रेन्च राष्ट्रपति इम्यानुअल माक्रों र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोजस्तै ‘रकस्टार’ राजनीतिक नेता मान्छिन्।

    आर्डेनको जन्म सन् १९८० मा भएको हो। उनका बुवा प्रहरी थिए। न्यूजिल्यान्डको उत्तरी टापु क्षेत्रमा हुर्केकी आर्डेन आफ्नो बाल्यकाल गरिबीमा कष्टपूर्ण ढंगले बितेको सम्झन्छिन्। वन्य क्षेत्रमा पर्ने उनको गाउँमा अधिकांश परिवार गरिब र सामाजिक न्यायबाट वञ्चित थिए।

    त्यही बेला यस्तो घटना भयो, जसले आर्डेनको जिन्दगी नै फेरिदियो।

    सरकारले त्यस क्षेत्रका वन पैदावारमा आधारित उद्योगहरू निजीकरण गरेपछि स्थानीयवासीले रोजगार गुमाए। केन्द्रीय सरकारबाट सहुलियत पनि नपाउँदा उनीहरूको जीवन कष्टकर हुँदै गयो। राज्यको एउटा निर्णयले जनताको जीवन कतिसम्भ प्रभावित हुन सक्दो रहेछ भन्ने उक्त घटनाका भुक्तमान आर्डेनले अनुभव गरिन्।

    ‘सामाजिक न्यायप्रति म जति प्रतिबद्ध छु, त्यो मेरो बाल्यकालकै प्रभावले हो,’ उनले सन् २००८ मा संसदमा सम्बोधन गर्दै भनेकी थिइन्, ‘म सानो छँदा गाउँमा धेरैले रोजगार गुमाएका थिए। मलाई औद्योगिक निजीकरणको सरकारी नीतिले गाउँले बेरोजगार भएको थाहा थिएन, उनीहरूले केन्द्रीय सरकारबाट कुनै सहुलियत नपाएको पनि जानकारी थिएन।’

    ‘त्यति बेला केही गाउँलेले आत्महत्या गरेका थिए, तर त्यो आत्महत्या, मेरो समुदायको गरिबी र उद्योग निजीकरण गर्ने सरकारी निर्णयबीच कुनै सम्बन्ध होला भन्ने मैले सोचेकै थिइनँ। जुन दिन मैले यो सम्बन्ध बुझेँ र सामाजिक न्याय राज्यको नीतिसँग जोडिन्छ भन्ने ज्ञान भयो, म स्वस्फूर्त राजनीतितर्फ तानिएँ। यो देशमा सामाजिक न्याय सुनिश्चित गर्नुछ भने राजनीतिमा होमिनु नै एक मात्र उपाय हो भन्ने मलाई लाग्यो। त्यही बुझाइले मलाई आज यहाँसम्म ल्याएको हो,’ उनले भनिन्।

    यसरी सामाजिक न्यायको उद्देश्य बोकेर राजनीतिमा होमिएकी आर्डेन १७ वर्षको उमेरमा लेबर पार्टीमा लागिन्। सन् २००१ मा स्नातक गरेपछि उनी तत्कालीन लेबर प्रधानमन्त्री क्लार्कको कार्यालयमा अनुसन्धानकर्ताका रूपमा आबद्ध भइन्।

    उनले केही समय बेलायती मन्त्रिपरिषद कार्यालयमा पनि काम गरिन्, जब टोनी ब्लेयर प्रधानमन्त्री थिए।

    सन् २००८ मा पहिलोपटक सांसद हुँदा आर्डेन २८ वर्षकी थिइन्। उनी त्यति बेला पनि संसदकै सबभन्दा कम उमेरकी सदस्य थिइन्।

    आफ्नो राजनीतिक करिअरमा दुई जना फरक प्रधानमन्त्रीसँगको अनुभव संगालेकी आर्डेन सन् २०१७ अगस्ट १ मा लेबर पार्टी प्रमुख छानिएकी हुन्। त्यसअघि उनी पार्टीकी उपप्रमुख थिइन्।

    न्यूजिल्यान्डले प्रगतिशील राजनीतिको लामो परम्परा बोकेको छ। महिलालाई पहिलोपटक मतदान अधिकार दिने र सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने न्यूजिल्यान्डलाई ‘बीसौं शताब्दीको जन्मस्थल’ का रूपमा समेत वर्णन गरिन्छ।

    आर्डेनले विपक्षी नेताका रूपमा विगतमा लिएका नीति पनि कम प्रगतिशील थिएनन्। उनी गर्भपतनका पक्षपाती थिइन् भने स्वैच्छिक मृत्यु र समलैंगिक विवाहमा उनको खुला समर्थन थियो। न्यूजिल्यान्डमा सन् २०१३ देखि समलैंगिक विवाहले कानुनी मान्यता पाएको हो।

    आर्डेनले सन् २००५ मा मोरमोन चर्च छाड्नुको कारण पनि पुरुष समलिंगी विवाहप्रति उनको समर्थनलाई नै मानिन्छ।

    यस्तो प्रगतिशील छवि हुँदाहुँदै आप्रवासी मुद्दामा भने आर्डेनले अनुदार नीति लिँदै आएकी छन्। आप्रवासी प्रवेश खुला गर्दा न्यूजिल्यान्डवासीको रोजगार र उनीहरूले सरकारबाट पाउने सहुलियतमा असर पर्ने उनको तर्क छ।

    लोककल्याणका समर्थक र आप्रवासी मुद्दामा अनुदार नीतिकै कारण आर्डेन नेतृत्वको लेबर पार्टी अघिल्लो निर्वाचनमा विजयी भएको राजनीतिक विश्लेषक बताउँछन्। जनतालाई राज्य तर्फबाट बढी सहुलियत दिने र सँगसँगै विदेशीहरूको प्रवेश निरुत्साहित गर्दै बाह्य हस्तक्षेप घटाउने उनको नीतिले ‘ज्यासिन्डामेनिया’ को लहर ल्याएको विश्लेषकको भनाइ छ।

    आर्डेनको पक्षमा उठेको जनलहरमा उनको वाकपटुतालाई पनि विश्लेषकहरू कारण मान्छन्।

    उनी पत्रकारहरूले सोधेका प्रश्नमा तुरुन्तै जवाफ फर्काउन खप्पिस छिन्। उनले दिने जवाफ सोझो र सशक्त मात्र हुँदैन, कहिलेकाहीँ हास्यचेतले समेत भरिएको हुन्छ।

    अघिल्लोचोटि प्रधानमन्त्री निर्वाचित भएपछि उनलाई पत्रकारहरूले सोधेका थिए, ‘तपाईं कहिले बिहे गर्दै हुनुहुन्छ?’

    आर्डेनको जवाफ थियो, ‘सन् २०१७ मा आएर कुनै महिलालाई उसको कार्यालयमै यस्तो प्रश्न सोधिन्छ र उसले जवाफ दिनुपर्छ भने त्यो कुनै हालतमा स्वीकार्य हुँदैन।’

    रेडियो कार्यक्रम सञ्चालक क्लार्क गेफोर्डसँग प्रेम सम्बन्धमा जोडिएकी आर्डेनले अगाडि भनेकी थिइन्, ‘बिहे कहिले गर्ने र केटाकेटी कहिले जन्माउने भन्ने महिलाको व्यक्तिगत निर्णय हो, यसले उसको काम र पहिचान प्रभावित हुनु हुँदैन। कुनै पनि महिलालाई काममा राख्ने कि नराख्ने भन्ने उसको विवाह वा केटाकेटी जन्माउने निर्णयमा निर्भर गर्दैन।’

    सञ्चार माध्यमहरूका अनुसार आर्डेन र गेफोर्डको सन् २०१२ मा एउटा कार्यक्रमबीच भेट भएको थियो। प्रधानमन्त्री निर्वाचित भएको करिब डेढ वर्षपछि उनले गेफोर्डसँग इंगेजमेन्ट गरेकी थिइन्। त्यसको केही समयअघि मात्र आर्डेनले छोरी जन्माएकी थिइन्। छोरीको नाम ‘नेभ ते अरोहा’ हो।

    त्यति बेला उनी सार्वजनिक समारोहहरूमा छोरीलाई पनि सँगसँगै लैजान्थिन्। छोरीलाई लिएर संयुक्त राष्ट्रसंघको कार्यक्रम सरिक हुनुले निकै चर्चा पाएको थियो।

    प्रधानमन्त्री हुँदै बच्चा जन्माउने आर्डेन दोस्रो व्यक्ति हुन्। पहिलो पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टो हुन्।

    आर्डेन र गेफोर्डले सन्तान जन्माइसकेपछि बिहे गर्लान् कि भनेर धेरैले अनुमान गरेका थिए। आर्डेनलाई एक पत्रकारले ‘तपाईं गेफोर्डलाई बिहेका निम्ति प्रस्ताव गर्नुहुन्छ’ भनेर सोधेकी पनि थिइन्।

    त्योे बेला आर्डेनले भनेकी थिइन्, ‘अहँ, म सोध्दिनँ। त्यो प्रश्नले उसैलाई खाइरहोस्।’

    अहिले गेफोर्ड घरमै बुबाको भूमिका निर्वाह गरेर बस्छन्। यसबारे प्रतिक्रिया दिँदै आर्डेनले भनेकी छन्, ‘म आफूलाई निकै भाग्यमानी ठान्छु, मेरो साथमा यस्ता साथी छन्, जो मसँगै हुन्छन्। जसले हाम्रो सन्तानको जिम्मेवारीमा ठूलो भूमिका खेलिरहेका छन्। उनी बच्चा हेर्न बसेका मान्छे होइनन्। बुबाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न बसेका हुन्।’

    उनको यो व्यक्तिगत जीवन र सञ्चारमाध्यमसँग सवाल-जवाफले पनि आर्डेनलाई स्वदेशभित्र र अन्तर्राष्ट्रिय स्तरमा चर्चा दिलाएको छ। यसले उनको राजनीतिक मैदान फराकिलो पार्न भूमिका खेलेको छ।

    यसपालि दोस्रो कार्यकाल निम्ति विजयी हुनु त्यसैको निरन्तरता हो।

    प्रतिक्रिया