काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्किदै गइरहेका बेला राजनीतिक विश्लेषकहरुले विवादलाई सत्ता स्वार्थमा आधारित झगडाका रुपमा लिएका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको राज्य नै आफैँ हुँ भन्ने अहंकार पलाएका कारण नेकपामा विवाद चर्किएकोसमेत दाबी गरेका छन् ।
नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले नियमित रुपमा सञ्चालन गर्दै आएको छहारी संवादअन्तरगत बुधबार आयोजित ‘सत्ता कलहमा नेकपा, कोभिड मारमा नागरिक’ विषयक भर्चुअल अन्तक्र्रियामा वाम विश्लेषक श्याम श्रेष्ठले सिद्धान्तहीन र विचारहीन पार्टी एकता नै नेकपा विवादको मुख्य जड भएको दाबी गरे ।
“नेकपामा विवाद लगातार चलिरहेको कारण भनेको सिद्धान्तहीन पार्टी एकता र विचारहीन पार्टी एकताको एउटा कारण हो । राज्य सञ्चालनको प्रमुखको रुपमा रहेका प्रधानमन्त्री अर्थात पहिलो अध्यक्षले राज्य पनि मै हुँ, पार्टी पनि मै हुँ भन्ने अहंकार पालेर सबैलाई समेटेर लैजानुको सट्टा आप्mनो सानो कोटरीलाई समेटेर लैजानुको परिणाम हो,” उनले भने ।
विश्लेषक श्रेष्ठले नेकपाको झगडालाई सत्ता स्वार्थम आधारित झगडाका रुपमा समेत चित्रित गरे । “यो सत्ता स्वार्थगत झगडा हो । कुनै सैद्धान्तिक झगडा होइन । विचारगत झगडा होइन,” उनले थपे, “यो कहिल्यै नसुल्झिने झगडा हो ।”
अर्का राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले पनि उत्कर्षमा पुगेको नेकपाभित्रको विवादलाई सत्ता स्वार्थका झगडाको संज्ञा दिए । सत्ता हत्याउन र शक्ति प्राप्त गर्नका लागि सैद्धान्तिक आधार बिना गरिएको पार्टी एकताको परिणाम नै नेकपाका विवाद भएको उनको भनाइ थियो ।
“दुई फरक धारहरु एक ठाउँमा आउँदा कुनै पनि छलफल भएन । अत्यन्त नाटकीय ढंगले उहाँहरुको बीचमा खाली सत्ता कसरी पाउने र शक्ति कसरी प्राप्त गर्ने भन्ने नियोजित सोच बाहेक कुनै पनि सैद्धान्तिक आधार थिएन,” विश्लेषक दाहालले भने, “त्यसैको रिफ्लेक्सन अहिले भइराखेको छ । वास्तवमा त्यसैको प्रतिविम्ब अहिले भइराखेको छ भन्ने कुरामा कुनै पनि मतभेद छैन ।”
उनले सत्तारुढ नेकपा र नेकपा नेतृत्वको सरकार असफल हुनुको कारण पनि तत्कालीन नेकपा र माओवादीबीच सैद्धान्तिक छलफल बिना भएको एकतानै भएको ठोकुवा गरे । “जति पनि असफलताहरु भइरहेका छन् ती असफलताहरु उहाँहरुका बीचमा भएको एकताको शैलीको परणिति हो,” दाहालले भने ।
प्रतिक्रिया