Pura Samachar

आन्दोलन प्रभावकारी बनाउन मातहतलाई तरुण अध्यक्ष बस्नेतको निर्देशन

प्रकाशित: January 4, 2021
पूरा समाचार

आन्दोलन प्रभावकारी बनाउन मातहतलाई तरुण अध्यक्ष बस्नेतको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध हुन गइरहेको दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान परिपत्र जारी गरेर जिल्ला कार्यसमितिहरुलाई संसद् विघटनविरुद्ध मातृ पार्टी कांग्रेसले घोषणा गरेको दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले पार्टीसँग समन्वय गरि सबै तह, तप्का र निकायका तरुणहरुलाई आन्दोलनमा सक्रिय रुपले सहभागी गराउन तरुण दलका जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद् विघटनविरुद्ध पुस २५ गते देशभरका तीन सय ३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै कांग्रेसले माघ ३ गते सात सय ५३ स्थानीय तहमा र माघ ८ गते छ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने भएको छ ।

बैठकले जिल्ला कार्यसमितिहरुले पनि केन्द्रले निर्धारण गरेको कार्यक्रमसँग नजुध्ने गरि थप आन्दोलनका कार्यक्रम गर्न सक्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३ गते पनि प्रतिनिधि सभा विघटनविरुद्ध एक सय ६५ संघीय निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया