Pura Samachar

‘प्रधानमन्त्री अपराधी हुन्, विवाद पार्टीमा भयो भनेर संसद्‌मा प्रहार गर्ने ?’

प्रकाशित: January 7, 2021
पूरा समाचार

‘प्रधानमन्त्री अपराधी हुन्, विवाद पार्टीमा भयो भनेर संसद्‌मा प्रहार गर्ने ?’

काठमाडौं । नेकपाका नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली असफल भएपछि संसद् विघटन गरेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै नेता बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली अपराधि भएकोसमेत बताएका छन् ।

उनले प्रश्‍न गरे, “विवाद पार्टीमा भयो भनेर संसद्‌मा प्रहार गर्ने ? प्रधानमन्त्री ओली अपराधी हुन् ।” उनले सबै क्षेत्रमा दलालहरुले मोजमस्ती गरेर प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेकोसमेत बताएका छन् ।

राष्ट्रपतिलाईसमेत संसारको अगाडि लज्जा गराउने काम गरेको बताएका छन् । उनले भने, “राष्ट्रिय, संघीयता र एकताको प्रतिक राष्ट्रपतिलाईसमेत संसारको अगाडि लज्जित तुल्याउने काम गर्न खोजियो । यो कसको दुस्कार्य हो, सभाध्यक्ष महोदय ?”

राज्यका सबै संवैधानिक निकायलाई कमजोरा पार्ने काम गरेकोसमेत उनले बताएका छन् । उनले भने, “प्रतिनिधि सभालाई जनता र राष्ट्रियता र संविधानको विरुद्धमा जुँगा मुसार्दै आफ्नै विपक्षीलाई लोप्पा खुवाउँदै विघटन गरियो । यो संविधानमाथिको प्रहार हो ।”

उनले संसद्‌को निरन्तरताको सिद्धान्त नेपालले अँगालेको बताए । यसका कारण कसैको सनकको भरमा संसद विघटन गर्ने प्रावधान नेपालमा नभएको उनले बताए ।

वैशाखमा कुनै पनि हालतमा चुनाव हुननसक्ने उनको दाबी छ । उनले भने, “वैशाखमा कुनै पनि हालतमा चुनाव हुनसक्दैन । यसैबाट थाहा हुन्छ कि प्रधानमन्त्री ओलीले फटाहा बोल्या हो भनेर ।”

प्रतिक्रिया