काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीभित्र सवालजवाफ चलेको छ ।
स्थायी कमिटीको पाँचौं बैठकको चौथो दिन सीमा समस्या र कोभिड–१९ नियन्त्रण रोकथामको विषयमाथि समीक्षा हुँदै थियो ।
तर, बैठक चर्चाचर्कीमा परिणत भयो । तिक्ताले सीमा पार गर्यो ।
स्रोतका अनुसार स्थायी कमिटीमा पूर्वएमाले मारामार गर्दा माओवादी केन्द्र घटक रमिते बन्न पुगेको थियो । शीर्ष नेताबाहेक पूर्वमाओवादी केन्द्र समूहका नेताहरू आजको वादविवादमा परै बसे ।
स्थायी कमिटीका अधिकांश माधव नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै चल्न नसक्ने निष्कर्ष निकाल्दै तुरुन्तै राजीनामा दिन दबाब दिएका थिए ।
रोचक कुरा त बैठकमा स्थायी कमिटी सदस्य झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गरेका थिए ।
बैठकमा आफूलाई पदच्युत गर्ने तयारी बुझेका ओलीले सुरुमै ‘अब प्रधानमन्त्री पनि बन्दिनँ, पार्टी अध्यक्ष पनि चाहिँदैन’ भन्दै रक्षात्मक शैलीमा प्रस्तुत भएका थिए ।
झलनाथले बीचमै ‘अब जिते पो चुनाव लड्नु त’ मुख फर्काएको एक स्थायी कमिटी सदस्यले भने ।
“झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गर्नुभयो । आज खनाल अरू सदस्यभन्दा बढ्ता आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो,” उनले भने ।
खनालले सुवास नेम्वाङको क्षेत्रमा आयोजनाको खोलो बगाइएको र आफ्नो क्षेत्रमा बजेट नै नपारिएकोसमेत आक्रोश पोख्न भ्याएका थिए । आफूलाई जिते पो चुनाव लड्नु त भने मुख चलाएपछि आक्रोशित ओलीले ‘तपाईंको हविगत पनि नबुझेको होइन’ भन्दै सवालजवाफ गरेका थिए ।
३४, १६ र १३ वर्ष पार्टी नेतृत्व गर्नेलाई केको त्याग ?
ओलीले स्थायी कमिटीको बैठकमा त्यागको परिभाषासमेत खोजेको थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ३४ वर्षसम्म पार्टीमा एकछत्र शासन गरेको स्मरण गराउँदै अब पनि केका लागि मरिहत्ते गरेको भन्दै सम्झाएका थिए ।
त्यस्तै ओलीले माधव नेपालले १६ वर्ष पार्टीमा शासन गरिसकेकाले उनका लागि पनि त्याग गर्न नसक्ने बताएका थिए । झलनाथ खनालले पनि १३ वर्ष पार्टी चलाइसकेकाले केका लागि त्याग गर्नुपर्ने हो भन्दै जवाफ तेर्स्याएका थिए ।
उनले एकता महाधिवेशनपछि पार्टी अध्यक्ष र अर्को चुनावदेखि सत्ताको पनि नेतृत्व नगर्ने बताइसकेकाले त्यसैलाई त्यागको रूपमा बुझ्नुपर्ने तर्क गरेका थिए ।
ओली गणतन्त्रवादी होइनन् !
आजको बैठकमा पूर्वएमाले नै बढ्ता आक्रोशित थिए । स्थायी कमिटीका बोल्दै नेतृ अष्टलक्ष्मी शाक्यले ओली निरङ्कुश भएको बताएकी थिइन् । उनले ओली गणतन्त्रवादी पनि नभएकाले त्यसको छनक पार्टीमा देखिएको भन्दै आलोचना गरेकी थिइन् ।
त्यस्तै आजको बैठकमा गोकर्ण विष्टले पनि सरकारबाट हटाएको रिस फेरेका थिए । आक्रोशित मुद्रामा प्रस्तुत भएका विष्टले ओलीबाट समस्याका निकास ननिस्कने भन्दै मार्ग प्रशस्त गर्न जोड दिएको एक स्थायी कमिटी सदस्यको दाबी छ ।
प्रतिक्रिया