Pura Samachar

सहकारीको ४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

प्रकाशित: July 12, 2020

सहकारीको ४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

असार २८, २०७७ बाँके : ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए। उनका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन्।​अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ। बज्राचार्य रु२० लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो। सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

प्रतिक्रिया