Pura Samachar

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम

प्रकाशित: July 12, 2020

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम

सप्तरी — पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ ।

बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए । ‘हामीले पटक–पटक भन्दै आएका छौं कि कोसीमा बालुवाको तटबन्ध निर्माण गरेर बचाउ गर्न सकिँदैन,’ उनले भने, ‘कोसी योजनाले तटबन्ध निर्माणमा लापरबाही गर्दा जोखिम बढ्यो । कोसीकै बालुवा खनेर पश्चिम तटबन्ध बनायो, अहिले त्यही कारणले डलुवाको १३ ठाउँमा सिपेज भएर कोसी फुट्ने खतरा बढेको हो ।’

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उनले बताए । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो ।

अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको छ । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ ।

यसअघि पछिल्लो सात वर्षदेखिको प्रयासमा गत वर्ष भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन भई पश्चिमी तटबन्धमा दबाब बढेको हो । बाढीको दबाबले शनिबार डलुवा क्षेत्रमा बाँधबाट सिपेज (रसाएको) भएको पानीले तीन वटा स्थानीय तहका ३ सय ६२ वटा घर जलमग्न भएका छन् ।

कोसीकै बाढीले तटीय क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका २ सय ५० र तिलाठी कोइलाडी गाउँपालिकाका १ सय १२ घर जलमग्न भएका हुन् । ‘कोसी योजनाका प्राविधिकहरूको लापरबाहीले हाम्रो नगरपालिकालाई जोखिम भयो । सिपेजले जलमग्न बनाइसक्यो, बाँधै फुट्दा के झन् होला,’ हनुमाननगर कंकालिनी नगरप्रमुख शैलेश साहले भने, ‘बाँध सिपेज भइरहेको ठाउँमा तत्कालै मर्मतसम्भार गरेन भने सप्तरीका एक लाखभन्दा बढी जनसंख्या प्रभावित हुने निश्चित छ ।’

प्रतिक्रिया